कांग्रेस छाडेको २४ दिनमै नतिजा स्वर्णिमको पक्षमा : राष्ट्रपति पौडेलको क्षेत्र जोगिएन

बिजमाण्डू
२०८० बैशाख १२ गते ०७:३१ | Apr 25, 2023
कांग्रेस छाडेको २४ दिनमै नतिजा स्वर्णिमको पक्षमा : राष्ट्रपति पौडेलको क्षेत्र जोगिएन

काठमाडौं। तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा स्वर्णिम वाग्ले निर्वाचित भएका छन्। कांग्रेस छाडेको २४ औं दिनमा वाग्ले ३४ हजार ९१९ मतका साथ जनताबाट अनुमोदित भएका हुन्।

Tata
GBIME
Nepal Life

कांग्रेसमा अन्याय भएको आरोप लगाउँदै स्वर्णिमले चैत १६ गते पार्टी छाडेका थिए। लगत्तै उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीले तनहुँ १ का लागि टिकट दियो।

अर्थशास्त्रीका रुपमा परिचित वाग्लेको पक्षमा एकाएक माहोल सिर्जना भयो। कुल ६५ हजार २९२ मत खसेको तनहुँमा सत्ता गठबन्धनबाट उम्मेदवार रहेका कांग्रेसका गोविन्द भट्टराईले २० हजार ९२ मतमात्र पाए।

भट्टराईले सोमवार नै हार स्विकार्दै मतदातालाई आभार प्रकट गरिसकेका छन्। ‘मेरो तपाईंप्रतिको विश्वास पूरा गर्न आफूलाई अब्बल प्रमाणित गर्न सकिनँ, यसले मलाई तपाईंको विश्वास योग्य बनाउन अझ प्रयास गर्नुपर्ने पृष्ठपोषण गरेको छ,’ भट्टराईले भनेका छन्।

यता एमालेका उम्मेदवार सर्वेन्द्र खनालले ८ हजार ५५५ मत प्राप्त गरे। निर्वाचन आयोगले औपचारिक मत परिणाम भने सार्वजनिक गरिसकेको छैन।

गत निर्वाचनमा यस क्षेत्रमा नेपाली कांग्रेसका रामचन्द्र पौडेल २५ हजार ३६१ मतका साथ निर्वाचित भएका थिए। एमालेका एकबहादुर रानाले १९ हजार ९८१ मत पाउँदा स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीले ६ हजार ८८६ मत पाएका थिए। रास्वपाका विकास सिग्देलले त्यतिबेला ६ हजार मत कटाएका थिए। पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि यहाँ उपनिर्वाचन भएको हो। नयाँ माहोलले नतिजा स्वर्णिमको पक्षमा गएको कांग्रेस तनहुँका सभापति जितप्रकाश आलेको तर्क रह्यो। ‘अहिलेको नयाँ ह्वीम नै हो। प्रारम्भिक समीक्षा यही नै छ,’ आलेले भने।

गोरखामा जन्मेका वाग्लेले अमेरिकाको हावर्ड युनिभर्सटीबाट स्नातकोत्तर र अस्ट्रेलियन नेसनल युनिभर्सिटीबाट अर्थशास्त्रमा पिएचडी गरेका छन्। सुशील कोइरालाको प्रधानमन्त्री कालमा अमेरिकाबाट बोलाएर राष्ट्रिय योजना आयोगका सदस्य बनेका उनलाई कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रिय योजना आयोगका उपाध्यक्षमा नियुक्ती दिएका थिए।