|

काठमाडौं : राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक महावीर पुनले सांसदहरुले काम नगरे ढ्यांग्रो ठोक्दै लखेट्ने चेतावनी दिएका छन्।

शुक्रबारबाट अनुसन्धान, नवप्रवर्तन र आविष्कारका निमित्त सरकार गम्भीर नभएको भन्दै आन्दोलन सुरु गरेका उनले नेताहरुले नीति निर्माणको काम नगरे ढ्यांग्रो ठोक्दै लखेट्ने चेतावनी दिएका हुन्।

उनले सांसदहरुले खादा,माला र भाषण गर्न, उद्घाटन गर्न समय मिल्ने तर कानुन बनाउन समय नमिल्ने हो? भन्ने प्रश्न गर्दै सांसदहरुले कानुन बनाएर देश विकासमा लाग्नुको विकल्प नरहेको बताए।

उनले अरू हेर्ने विभाग भए पनि अनुसन्धान आविष्कार नवप्रवर्द्धन गर्ने विभाग नभएको भन्दै उनले आफ्ना माग पूरा नभएसम्म धर्ना जारी रहने बताए।

उनले सबै नेताहरु आफ्नो भाषण सुन्न धर्नास्थल पुग्नुपर्ने र त्यो नसके संसदमा आफूलाई बोल्ने व्यवस्था गरिदिन आग्रह गरे। उनले नेताहरुले बोलेर मात्रै नहुने भन्दै बोलेर कदम चाल्ने नेताको खाँचो रहेको बताए।

उनले भने, ‘अनुसन्धान आविष्कार नवप्रवद्र्धन गर्ने विभाग खोई? हाम्रो माग पूरा नभएसम्म हामी धर्ना बस्छौँ। यो अनुरोध सबै पार्टीलाई हो। अरू पार्टी पनि आएर मेरो भाषण सुनून्। कि मलाई संसदमा गएर बोल्ने व्यवस्था गरिदिऊन्। यो नेपालीको दर्द हो, संसदमा केहीले बोले रे आज पनि बोल्ने रे भन्ने मान्छे आएका छन्, बोलेर मात्रै केही हुँदैन, बोलेर हुने भए सबै भइसक्थे, बोलेर कदम चाल्ने नेताज्युहरु चाहियो। यो सांसदको जिम्मा हो। सांसदलाई भाषण गर्न, उद्घाटन गर्न, माला लगाउन समय मिल्ने, तर नभइ नहुने ऐन,कानून बनाउन समय नमिल्ने, हामीले त बनाउन पाइँदैन, सडकबाट त ऐन बन्दैन। सांसदलाई काम गरेनन् भने ढ्यांग्रो ठोक्दै लखेट्नुपर्छ।’

पुनले आफ्नो आन्दोलन सबै सानातिना आन्दोलनहरु पूरा गर्नको लागि अर्थतन्त्र सुधार्ने जनआन्दोलन भएको बताए।

उनले आफूले यो आन्दोलन मनलाग्दी रुपमा नल्याएको र निचोडमा पुगेरै छोड्ने प्रतिबद्धता जनाएको बताए। उनले संसारमा नवप्रवद्र्धन र आविष्कारको क्षेत्रमा लगानी नगरी अर्थतन्त्र चलायमान बन्न नसक्ने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.